जनकपुरधाम, पुस १८ गते । १८ मंसिर, २०७६ मा आफैँले चाहेको केटासँग विवाह गर्ने विषयमा विवाद बढ्दै जाँदा जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापाडाकी १६ वर्षीया सोनीकुमारी मण्डलको हत्या उनकै आमाले गरिन् ।

विवाहको विषयलाई लिएर भएको विवादमा ४८ वर्षीया आमा राजकुमारी मण्डलले घाँटी थिचेर छोरीको हत्या गरेकी थिइन् ।

सोनीले मन पराएको केटासँग भाग्ने डरले राजकुमारीले उनलाई केही दिन कोठामा थुनेर राखेकी थिइन् । प्रेमीसँग कुराकानी र भेट गर्न बन्देज लगाइएपछि सोनी प्रतिवादमा उत्रिँदै आएकी थिइन् । हत्यापछि प्रहरीले राजकुमारीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलायो ।
३ पुस, २०७६ मा गाउँकै युवकसँग प्रेमसम्बन्ध राखेको निहुँमा पर्साको पोखरिया नगरपालिका– ९, शिवबर्वाकी १५ वर्षीया पुनिता कुमारीको उनकै र काकाहरू मिलेर हत्या गरे ।

हत्यापछि उनको शव गाउँनजिकको खोलामा लगेर जलाइएको थियो । आमा शिवकली देवी, बुबा वीरेन्द्र, काकाद्वय सन्तोष, राजेन्द्र महतोले घाँटी थिचेर उनको हत्या गरेका थिए ।

गाउँकै केटासँग प्रेमविवाह गरे समाजमा बेइज्जत हुने डरले परिवारले पुनिताको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । आरोपी सबैलाई प्रहरीले पक्राउ गरी कर्तव्यज्यान मुद्दा चलाएको थियो ।

९ पुस, २०७६ मा धनुषाको मिथिला नगरपालिकास्थित बडहरीमा आर्थिक लेनदेन र जग्गा विवादका कारण जेठाजुले आफ्नै बुहारीको हत्या गरे ।

जनकपुरधाम उपमहानगरपालिका(२१ कुर्थाका श्रीप्रसाद पञ्जियारले बुहारी रानीदेवी पञ्जियारलाई बन्चरोले हानेर हत्या गरेका थिए ।

रानीको टाउको, नाक र बायाँ हातका तीनवटा औँला काटेर पञ्जियार भागेका थिए । गम्भीर घाइते भएकी रानीलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भयो ।

१८ माघ, २०७६ मा मेमोरी कार्डलगायतका विषयलाई लिएर घरायसी विवाद हुँदा धनुषाको औरही गाउँपालिका(२ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या भयो । समान्य विषयको विवादले अन्ततः हत्याको रूप लियो । ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला पासवान, ३० वर्षीय श्रीमान् अनिलकुमार पासवान र २० वर्षीया नन्द पुनिता पासवानले उनलाई घाँटी थिचेरै मारे ।

त्यसपछि उनीहरूले अपराध लुकाउन झुण्डिएको अवस्थामा फेला परेको भन्दै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगेको नाटक गरे र त्यही छाडेर भागे ।

८ फागुन, २०७६ मा शहीदनगर नगरपालिका(७ की स्नेहा यादवले प्रेमीसँग विवाह गर्न खोजेपछि परिवारिले यातना दिएरै स्नेहाको हत्या गर्‍यो ।

काठमाडौंस्थित नासा कलेजमा कक्षा १२ मा अध्ययनरत स्नेहाले आफूले रोजेको केटासँग बिहे गर्न जिद्दी गरेपछि बाबु दिलीपले जनकपुर बोलाएर कुटपिट गरी हत्या गरे र शव जलाइदिए ।

प्रतिष्ठा बचाउन भन्दै दिलीपले आक्रोशमा छोरीलाई काठमाडौंबाट बोलाई जनकपुर उपमहानगरपालिका–२, वकिल टोलस्थित डेरामा चरम यातना दिई हत्या गरेका थिए ।

हत्या अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ । सो मुद्दामा अन्तिम फैसला हुन बाँकी नै छ ।

शव जलेपछि बचेको अस्तुलाई दिलीपले नहरमा बगाएका थिए । तर, अनुसन्धानको क्रममा शव जलाएको स्थानबाट ठूलो हड्डी बरामद भएको थियो ।

गत २६ कात्तिकमा रौतहटको माधवनारायण नगरपालिका– ७, लौकाहामा आफ्नै घरमा सुतिरहेकी अमृता साहको बुबा(आमाकै योजनाअनुसार गोली हानी हत्या भयो ।

गाउँकै युवकसँगको प्रेमसम्बन्ध र सम्बन्धविच्छेदअघिका श्रीमान्‌को उजुरीले छोरी पक्राउ परे इज्जत जाने भन्दै बुबाले सुपारी दिएर छोरीको हत्या गर्न लगाएको खुलेपछि सबै चकित भए ।

रामअयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारीलाई आमा सीतादेवीसँग सुतिरहेको अवस्थामा कञ्चटमा गोली हानी हत्या गरिएको थियो ।

बुबा रामअयोध्या र अमृताका भिनाजु देवाही गोनाही नगरपालिका–२, करुनिया लक्ष्मीनियाका लक्ष्मण साह मिलेर परोहा नगरपालिका– ४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिई अमृतालाई मार्ने योजना बुनेका थिए ।

तर, ९ कात्तिकमा महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारत लैजाने र उतै हत्या गर्ने योजना बनाए पनि सफल हुन नसकेपछि २६ कात्तिकमा फेरि देवाही गोनाही– २, लक्ष्मीनियाका कैमुल देवानलाई १ लाख रकम दिई गोली हान्न लगाएर हत्या गरे ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका ५५ वर्षीय बुबा, आमा, देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनिया करुनियाका शेख अलियास, इस्लाम अन्सारी, शेख इम्ताज र परोहा नगरपालिका–४ का छोटेलाल साहलाई पक्राउ गरेको थियो ।

गाउँकै सोसिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखि प्रेम सम्बन्ध हुँदाहुँदै परिवारकै दबाबमा २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका–३ का रूपेश साहसँग अमृताको मागी विवाह भएको थियो । सोसिन्द्र फरक जात र विवाहित रहेकाले अमृताको घरपरिवारले उनीसँग विवाह गर्न मानेका थिएनन् ।

विवाह भएको केही दिनमै २०७७ असारमा रूपेश र अमृताबीच सम्बन्धविच्छेद भयो । त्यसको केही दिनपछि रुपेशमाथि छुरा प्रहार गरी ज्यान मार्ने प्रयास भयो । सो घटनामा अमृता र प्रेमी सोसिन्द्रको संलग्नता रहेको भन्दै रूपेशले जिल्ला प्रहरी सर्लाहीमा उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दिएका थिए ।

पछिल्लो एक वर्षमा मात्र परिवारकै सदस्यबाट भएका यी हत्याका प्रतिनिधि घटना मात्र हुन् । प्रहरीका अनुसार प्रदेश २ मा पारिवारिक विवादकै कारण पछिल्लो एक वर्षयता दर्जनौँ महिलाले आत्महत्या गरेका छन् भने दर्जनभन्दा बढी व्यक्ति परिवारकै सदस्यबाट मारिएका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०७७र७८ को पाँच महिनामा भएका ३५ वटा हत्याका घटनामा समेत अधिकांश महिलाकै हत्या भएको छ ।

वैदेशिक रोजगारी, बेरोजगारी, लागुऔषध कारोबार, दाइजो प्रथा र प्रविधिको बढ्दो दुरुपयोगले अधिकांश हत्याका घटना भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईँले बताए ।

अशिक्षा, अन्धविश्वास, सामाजिक सञ्जालको दुरुपयोग, भड्किलो फेसन र आधुनिक युगमा पौराणिक सोच लाद्न खोजेपछि सुरु हुने विवादले समेत मधेसमा छोरीको हत्या भइरहेको देखिएको उनको भनाइ छ ।

‘सर्वप्रथम छोरीचेली कस्तो बाटोमा हिँडिरहेका छन् भन्ने कुरामा अभिभावकको ध्यान गएको छैन । अभिभावक र छोराछोरीले एकअर्कासँग खुलेर आफ्नो मनको कुरा, इच्छा आकांक्षा र मायाप्रेम साट्ने घरमा वातावरण देखिन्न ।

बाहिरी रूपमा कडा अनुशासनमा छोराछोरीलाई राखेको समाजमा देखाउने तर छोराछोरी कतिखेर के गर्दै छ, कस्तो संगतमा छन्, उनीहरूको आवश्यकता, चाहना र इच्छा के हो, त्यसबारे सोच्दैनन्,’ एसपी प्रसाईँले भने, ‘छोरीका इच्छा र आकांक्षा दबाउन खोज्दा अन्त्यमा छोरीचेली गलत ट्रयाकमा गइसकेपछि अभिभावकले उनीहरूमाथि नियन्त्रण गर्न खोज्छन् र त्यसबीचमा अभिभावक र छोराछोरीबीच सुरु हुने विवाद बढ्दै जान्छ र हत्याजस्तो जघन्य अपराध निम्तिन्छ ।’

गैरसरकारी संस्थाले समेत सामाजिक विकृतिलाई बढाबा दिँदा यस्ता घटना बढेको उनको दाबी छ ।वैदेशिक रोजगारी, दाइजो नदिँदा घरनिकाला, प्रेम र अवैध सम्बन्धका कारण इज्जत जाने र बदनामी हुने भन्दै घरपरिवारकै व्यक्तिबाट छोरीचेलीको हत्या बढेको मानवअधिकारवादी संस्था इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

‘कलिलै उमेरमा प्रेम सम्बन्ध, वैदेशिक रोजगारीले परपुरुषसँगको सम्बन्धले श्रीमान्रश्रीमतीबीच अविश्वास बढ्दो छ’, उनले भने, ‘विद्यालय र कलेजमा पढ्दापढ्दै प्रेममा परेर छोरी गर्भवती हुने, त्यसमा पनि अर्को जातका केटासँग प्रेममा पर्दा झनै बदनामी हुने अभिभावकको सोचाइ हुन्छ तर विवाहका लागि केटाकेटीले जिद्दी कस्छन् । त्यस क्रममा समेत छोरी नै मारिन्छन् ।’

काम गरेर भारतबाट फर्किएपछि अविश्वासकै कारण केही दिनअघि मात्र धनुषामा एक पुरुषले श्रीमतीमाथि पेट्रोल खन्याएर आगो लगाई मार्ने प्रयास गरेको उनले जानकारी दिए ।

‘भारतबाट फर्किंदा श्रीमतीले पहिले क्वारेन्टाइन बसेर मात्र घर आउनू भन्दा उनले श्रीमतीमाथि शंका गरेर आगो लगाएर मार्ने कोसिस गरे,’ उनले थपे ।

यस्ता घटना नियन्त्रणका लागि जागरणमार्फत सामाजिक, कानुनी र व्यावहारिक सचेतना जरुरी रहेको पासवानको भनाइ छ ।

‘यहाँ कानुन कार्यान्वयनको अवस्था एकदमै फितलो छ । पीडित परिवारलाई पञ्चायती गरी विभिन्न प्रलोभनमा पारिन्छ, घटनामा राजनीतिकरण हुन्छ । त्यसैले पीडितले न्याय पाउँदैनन् । अनि यस्ता घट्नाहरू अझै बढ्दै गएका छन् । त्यसैले नेतारकार्यकर्तालाई समेत सचेतना जरुरी छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here