जनकपुरधाम, मंसिर २१ गते । प्रदेश २ सहित देशभर बाल यौन दुराचार र अप्राकृतिक मैथुनका घटनामा बढोत्तरी हुँदै गएको देखिएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा देशभर २१९ वटा बाल यौन दुराचारका घटना भयो। सोही वर्ष २५ वटा अप्राकृतिक मैथुनका घटना घटेका छन्।

२०७६÷०७७ मा बाल यौन दुराचारका घटना २३२ वटा भयो र अप्राकृतिक मैथुनको घटना पनि बढेर २७ पुग्यो। पछिल्लो दुई आर्थिक वर्षमा दुवै अपराधको घटना बढेको त देखियो नैै, चालु आर्थिक वर्षमा पनि बढ्ने देखिएको छ।

चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्याङ्कमै बाल यौन दुराचारको घटना ८३ वटा पुगेको छ। अप्राकृतिक मैथुनकै पनि कात्तिकसम्ममा १२ वटा घटना भएको छ। बाल यौन दुराचारको सर्वाधिक घटना प्रदेश १ मा भएको छ, जहाँ अघिल्लो दुई आर्थिक वर्ष २०७५र०७६, २०७६र०७७ र चालु आर्थिक वर्ष २०७७र०७८ को कात्तिकसम्ममा कूल ११६ वटा घटना भएको देखिएको छ।

सोही अवधिमा बागमती प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा ८२, प्रदेश २ र गण्डकी प्रदेशमा समान ७४-७४ वटा, काठमाडौं उपत्यकामा ६७ वटा घटना घटेको पाइएको छ।

सुदूरपश्चिम प्रदेशमा १९ वटा हुँदा कर्णाली प्रदेशमा जम्मा एउटा बाल यौन दुराचारको घटना भयो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर बाल यौन दुराचारको घटना बढी देखिँदै जानुमा “घटनाको सार्वजनिकीकरण”लाई मान्छन्।

प्रहरीको ‘मोबिलिटी’ बढ्दा घटेका घटनाहरू बाहिर आएको उनले बताए। फेरि, मानिसहरू सचेत भएर बाल यौन दुराचारदेखि अप्राकृतिक मैथुनका घटना लुकाएर होइन, प्रहरीमा उजुरी गरेर कानुनी उपचार खोज्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए।

“मान्छेले पहिले घटनाहरू लुकाउँथे, आपसमा मेलमिलाप गर्थे, अचेल सचेत भएर मिलाउने होइन, प्रहरीकहाँ उजुरी गरौँ र कानुनी उपचार खोजौँ भन्ने पक्षमा छन्,” उनले भने, “यसरी भएका घटनालाई समाजमै मिलाएर राख्नुभन्दा पनि सार्वजनिकीकरण गर्दै जाँदा घटनाको तथ्याङ्क बढी देखिएको हो।”

कानुनतः बालबालिकाको यौनाङ्गहरू छुनेसँगै चलाउने, सुम्सुम्याउने, चुम्बन गर्ने, मुसार्नेलगायत कार्यलाई बाल यौन दुराचारको रूपमा मानिन्छ, जुन दण्डनीय हुन्छन्।

हालसम्म घट्दै आएका घटनाहरूको विश्लेषणको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सातदेखि बढीमा १४\१५ वर्षसम्मका बालबालिकामाथि यौन दुराचार हुने गरेको तथ्य बाहिर ल्याएको छ।

बाल यौन दुराचारीको टार्गेटमा आर्थिक अवस्था कमजोर भएका परिवारमा हुर्किएको बालबालिका पर्ने गरेको पनि सीआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे बताउँछन्।

उनका अनुसार अधिकांश यौन दुराचारीहरूले अभिभावकलाई आर्थिक सहयोग गर्ने, रोजगारीको आश्वासन दिने, बालबालिकालाई पढाइ खर्च उपलब्ध गराउनेलगायतका काम गरी आफूहरूसँग नजिक्याउने गरेको देखिएको छ।

त्यही भएर मुुलुकी अपराध संहिता, २०७४ ले अपराधको रूपमा स्वीकारेको बाल यौन दुराचारदेखि अप्राकृतिक मैथुनजस्ता अपराधलाई न्यूनीकरण गर्न सरकारी र गैरसरकारी निकायहरूको एकीकृत प्रयास जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here