वीरगंज, ६ साउन । लगातारको वर्षा र बाढीपछि वीरगञ्जमा हरियो तरकारीको मूल्य दोब्बरले बढेको छ। वर्षापछि आएको बाढी र डुबानका कारण किसानले आफ्नो खेतबारीमा लगाएको तरकारी बालिमा क्षति पुगेपछि वीरगञ्जको बजारमा हरियो तरकारीको मूल्य बढेको हो।

तरकारीको मूल्य बढेपछि मारमा परेका उपभोक्ता अहिले महँगोमा तरकारी किनेर खान बाध्य छन्।वीरगञ्जमा बाढी आउनुभन्दा अघि प्रतिकेजी ८० रुपैयाँसम्ममा पाईने गोलभेंडा अहिले १ सय ८० रुपैयाँमा विक्री भइरहेको छ।

प्रतिकेजी ५० रुपैयाँको परबल १ सय २०, ४० रुपैयाँको भाण्टा ८०, ६० रुपैयाँको हरियो खुर्सानी १६०, ४० रुपैयाँको झिगुनी ८०, ३० रुपैयाँको भिण्डी एक सय र प्रतिकेजी ३० रुपैयाँमा विक्री भइरहेकाे घिरौला ६० रुपैयाँमा विक्री भइरहेको छ।

वीरगञ्ज फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष विदुर गुप्ताले बाढी र डुबानका कारण किसानले लगाएको तरकारी बारीमै नष्ट भएपछि तरकारीको मूल्य बढेको बताए।

साथै बाढीले पर्साका ग्रामिण क्षेत्रका सडकमा क्षति पुगेका कारण पनि किसानहरुले तरकारी बजारसम्म पुर्‍याउन नसक्दा पनि मूल्य आकाशियको उनले बताए।

‘बाढीका कारण किसानहरुले लगाएको तरकारी बाली नष्ट हुनाले बजारमा हरियो तरकारीको भाउ महँगो भएको छ’, गुप्ताले भने,‘बाढीले सडकहरु भत्काएकाले किसानहरुले बजारसम्म अहिले तरकारी पनि पुर्‍याउन सकेका छैनन्, त्यसले पनि भाउ बढेको हो।’

वीरगञ्जको बजारमा बारा र पर्साको ग्रामीण क्षेत्रबाट किसानहरुले साईकल तथा विभिन्न सवारी साधनबाट उत्पादन भएको हरियो तरकारी ल्याउने गरेका छन्। तर बाढीले बारा पर्साका विभिन्न ठाउँमा सडकहरुमा क्षति पुग्दा आवतजावतमा कठिनाई भएका कारण किसानहरुले तरकारी बजारसम्म ल्याउन पाएका छैनन्।

महँगो भएपनि तरकारी किनेर खान बाध्य भएको वीरगञ्जका उपभोक्ता आन्नद साहले बताए। ‘महँगो भएपनि के गर्नु किनेर खानै पर्छ’, साहले भने,‘ महँगो त पहिला पनि थियो तरअहिले धेरै महँगो भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here